सुनसरी
सुनसरीको इटहरीमा आज जाऔँ साथी सरर, सिमाना बचाऔँ कालापानी पुगेर बोल्को गीत सार्वजनीक गरिएको छ । आज नै सो गीतको मिम्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो ।
सो गीतमा प्रेम बिष्ट र गङ्गा गौतमले स्वर दिएका छन् । जुन गीतमा पूर्व प्राज्ञ राम धामीले सङ्गीत भरेका छन् । गीतको शब्द रचना प्रेम बिष्ट र भीम लामाले गरेका हुन । बुद्ध इन्टरनेशनल फिल्म्स प्रा.लि.को व्यानरमा निर्मित गीतको निर्देशन चलचित्र निर्देशक तथा लेखक भीम लामाले गरेका थिए ।
गीत–निर्देशक, टिकटक परिकल्पनाकार तथा सञ्चालक लामाले कार्यक्रमबारे प्रस्ट्याउँदै भने “कोभिड–१९ को विश्वव्यापीे मलाई उकुसमुकुस बनाइ रहेको थियो । केही गर्न सक्दिनँ कि भनेर निरास पनि भएँ । अरुलाई पनि त्यस्तै भएको होला भन्ने ठानेँ । त्यसर्थ त्यो उकुसमुकुसलाई मनोरञ्जनमा बदल्न तथा नयाँ कलाकार खोज्नका लागि यो बाटो रोजेको हो । टिकटक प्रतियोगिताबाट नयाँ कलाकारको उत्पादन हुने र राष्ट्रियताको सवालमा हैँसेमा होइसे गर्न यो राष्ट्रवादी गीतको निर्माण गरेँ ।” गीतमा राष्ट्रियताको भावना ओतपोत भएको पाइन्छ । गीतको अधिकाङ्श छायाङ्कन बेलबारी क्षेत्रमा गरिएको छ ।
सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ कलाकार तथा चलचित्रकर्मी प्रेम सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली र साहित्यकार ईरानराई अतिथिमा चलचित्र निर्देशक÷निर्माताहरू परशुराम चौधरी, अरुण प्रधान, अशोक चेम्जोङ र लाखमान योञ्जन रहेका थिए ।
कार्यक्रम बुद्ध इन्टरनेशनल फिल्म्स प्रा.लि. तथा दीपलव कुलुङ इन्टरटेनमन्टको संयुक्त आयोजनामा भएको थियो । सोहि अवसरमा टिकटक भिडियो प्रतियोगितामा प्रथम हुने धरानकी रक्षा राई पुरस्कार वितरण गरिएको थियो । सो टिकटक भिडियो भीम लामाकै छैटौँ नेपाली चलचित्र ‘फेक फ्रेन्ड’ का गीतहरूमा बनाइएका थिए ।
विजेता राईलाई कार्यक्रमका प्रमुख अतिथि सुब्बाले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए भने विशिष्ट अतिथि पराजुलीले नगद रु ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी थिइन । विजेता रक्षा राईले भीम लामाको आगामी चलचित्र र म्युजिक भिडियोहरूमा अभिनय गर्ने मौकासमेत पाउनेछिन् । सोहि टिकटक भिडियो प्रतियोगिताका दोस्रो र तेस्रो विजेताहरूलाई प्रमाणपत्र र ट्रफी तथा चौथोदेखि नवौँसम्मलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम भीम लामाको अध्यक्षता तथा भुवन दाहालको सञ्चालनमा होटल मनसान्त, इटहरीमा सम्पन्न भएको थियो ।