सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई

भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ ।

भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा बुझाबुझ हुने भाषालाई भाषाशास्त्रले भिन्न भाषाको मान्यता दिने गरेको छैन । भाषाशास्त्रले भाषा वक्ताहरू बिच आपसमा गरिने संवाद बुझाबुझ नहुने भाषालाई भिन्न भाषाको मान्यता प्रदान गर्दछ । प्रत्येक भाषामा भिन्न रूपावली भएको भाषिका अर्थात् फरक लवज पाइने कुरा भाषाशास्त्रीहरूले गरेका अध्ययन प्रतिवेदनले देखाएको छ ।

सोताङ र कुलुङ समाजमा बोलचाल गरिने भाषा एउटा भएपनि भाषाको नामकरण भिन्न भएको पाइन्छ । सोताङ समुदायमा बोलिने भाषालाई सोत्तोरिङ भन्ने गरिएको छ । त्यहीँ भाषा कुलुङ समुदायले कुलुरिङ भन्ने गर्दछन् । सोताङ र कुलुङले बोलचाल गर्ने भाषामा हल्का लवज फरक पाइन्छ । तर व्याकरणको रूपावलीमा भिन्नता छैन । यस भाषालाई कुलुङ समुदायले कुलुङ भाषा हो भनेर दाबी गर्दै आएका छन् । सोताङ समुदायले मातृभाषाको रूपमा प्रयोग गर्दै आएको भाषालाई सोताङ भाषा भनेर दाबी गर्न सकिरहेको देखिँदैन । सोताङ समुदायको अर्को मातृभाषा भएर आफ्नो मातृभाषा कुलुङलाई एकलौटी छोडी दिन लागेको हो कि ? भाषा संरक्षण सम्बन्धी सचेतताको अभावले सोताङ समुदायले कुनै भाषालाई आफ्नो मातृभाषा हो भनेर दाबी नगरेको हो जस्तो देखिन्छ । यथार्थमा सोताङ र कुलुङ समाजमा बोलचाल भईरहेको भाषा दुवै समुदायको साझा हो । सोताङले आफ्नो मातृभाषाको नाम सोताङ भाषा हो भन्न हिचकिचाइ रहेको देखिन्छ । त्यसरी आफ्नो मातृभाषाको सही नाम उच्चारण गर्न सङ्कोच मान्नु ठीक होइन । सोताङले साझा भाषाको अधिकारलाई सुरक्षित गरेर राख्नु पर्दछ । कुलुङलाई एकलौटी भाषिक अधिकार छोडी दियो भने सोताङ भाषिक अधिकारदेखि बञ्चित हुन पुग्दछ ।

अमेरिकी नागरिक चार्ल्स् माइकडुगालले २०२१ साल मङसिरदेखि २०२२ साल मङसिरसम्म एक वर्ष अध्ययन गरेर लेखेको द कुलुङ्गे राई पुस्तकमा सोताङ, पिल्मोङ, नाम्लुङ र कुलुङले साझा भाषा बोल्दछन् भनेर लेखेका छन् । सोताङ र कुलुङको बसोबास भूमि जोडिएको अर्थात् साझा रहेको उल्लेख छ । कुलुङ र सोताङले बसोबास गरिरहेको भूमिलाई महाकुलुङ अथवा सोताङ-कुलुङ भन्ने गरिएको बताएको छ । पुस्तकमा कुलुङ र सोताङको उद्गम भूगोल पनि एकैठाउँ अर्थात् सोताङ-कुलुङ रहेको उल्लेख गरिएको छ ।

दिस्मी वंशको पुर्खा रावाखोलाबाट कुलुङ बसोबास गर्न पुगेका थिए । दिस्मीको सन्तानले आफ्नो उद्गम भूमि कुलुङलाई जातिको नाम बनाएर कुलुङ भन्न पाउदा गर्व गरेका छन् । बोलचालमा कुलुङ भन्ने गरेपनि सांस्कृतिक विधिविधान सम्पन्न गर्दा कुलुङ नभनेर दिस्मी भन्ने गर्दछन् । त्यस्तै नास्मी वंशका पुर्खा रावाखोलाबाट सोताङ बसोबास गर्न पुगेका थिए । सोताङ पुगेको नास्मीको सन्तानले आफ्नो उद्गम भूमि सोताङलाई जातिको नाम बनाएर आफू सोताङ हो भन्न अनकनाएको देखिन्छ । सोताङको उद्गम भूमि सोताङ हो । त्यसकारण सोताङ जातिले आफ्नो इतिहास खोज्ने भूमि सोताङ हो । जातिको इतिहास उद्गम भूमिसँग जोडिने गर्दछ । सोताङ भूमिदेखि बाहिर सोताङ जातिको इतिहास होइन, सोताङ सम्बन्धी किंवदन्तीसम्म सुन्न पाउदछ । सोताङले सांस्कृतिक विधिविधान सम्पन्न गर्दा बिदेल्खु र सोबोलु बिचको भूमिभित्र केन्द्रीत भएर नास्मी (सोताङ) जातिको अस्तित्व पुकार्ने गर्दछन् । सोताङले आफ्नो उद्गम भूमिलाई सोन्दुलु तोरोप्पा भनेर पुकार्ने गरेपनि जातिको नाम सोताङ हो भन्न सङ्कोच मान्ने गर्दछन् ।

जाकोबुस् तोल्स्माले २०५१ साल कातिकदेखि २०५३ साल मङसिरसम्म दुई वर्ष अध्ययन गरेर कुलुङ व्याकरण लेखेका छन् । उनले लेखेको व्याकरणको नाम कुलुङ भएपनि सोताङ र कुलुङमा बोलिने भाषाको लवजमा हल्का फरक रहेको र मूल भाषा फरक नभएको खुलाएको छ । सोताङवासीले सोत्तोरिङ र कुलुङवासीले कुलुरिङ भन्ने गर्दछन् भनेर प्रस्ट लेखेका छन् ।

माइकडुगालले लेखेको पुस्तक अहिले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र सङ्कायको पाठ्यक्रममा राखिएको छ । तोल्स्माले लेखेका व्याकरण त्रिभुवन विश्वविद्यालयलगायत अन्य विशवविद्यालयमा भाषाशास्त्रको पाठ्यक्रमा समावेश गरिएको छ ।

यसरी दुईजना लेखकले लेखेको पुस्तकले अन्तर्राष्ट्रिय मान्यता पाईसकेको छ । उनीहरूको पुस्तकलाई विश्वविद्यालयले मान्यता दिई सकेको छ । न्यायालयमा मुद्दा परेमा विश्वाविद्यालयले मान्यता दिएको पुस्तक विरुद्ध अदालत अघि बढन सक्ने सम्भावना धेरै कम रहन्छ ।

माइकडुगाल र तोल्स्माको पुस्तकले सोताङ समुदायलाई सोताङ भएर जीउनु पर्ने सन्देश दिएको छ । पुस्तकमा उल्लेख गरिएको सोताङ शब्दले सोताङ जातिको अस्तित्व र स्वभिमानलाई उच्च बनाएको छ । सोताङ जातिले आफ्नो भाषा र संस्कृति संरक्षण गरेर स्थायी रूपले आफ्नो पहिचान सोताङ कायम राख्न पर्ने आधार स्थापित गरिदिएको छ ।

सोताङ शब्द त्यागेर अरू कुनै समुदायमा समाहित हुन गएमा वर्तमान अवस्थासम्म अंगालेर राखेको भाषा र संस्कृतिको स्वमित्व गुमाएर नयाँ इतिहास सिर्जना गर्नुपर्ने देखिन्छ । कुलुङ र सोताङले उपयोग गरिरहेको साझा भाषा र संस्कृतिको स्वमित्व सोताङले त्याग्ने बित्तिकै स्वत कुलुङलाई एकलौटी अधिकार प्राप्त हुन पुग्दछ । सोताङको इतिहास सोताङ भूमिसँग गाँसिएको छ । सोताङ र कुलुङ बिच सृष्टिकालदेखि रहिआएको आपसी सद्भाव र साझा भाषाको इतिहास संरक्षण गर्नु नितान्त आवश्यक छ ।

मानव सभ्यताको सुरुवातदेखि सोताङ र कुलुङको पुर्खाहरूले भाषा र संस्कृतिलाई साझा सम्पत्तिको रूपमा ग्रहण गर्दै आएको हो । वर्तमान अवस्थामा सोताङले सोताङ भनेको ठाउँको नाम हो जातिको नाम होइन भनिरहेका छन् । सोताङमा बसोबास गरिरहेका राईले आफ्नो जाति, भाषा र संस्कृतिको नाम सोताङ होइन अर्कै हो भन्नु सोताङ समुदायले आफ्नो घुँडामा आफैले बञ्चरो हानेर पहिचान समाप्त गर्नु हो ।

सोताङ र कुलुङको भाषा र संस्कृतिमा साझा स्वमित्व मानव सभ्यताको सुरुवातकालदेखि रहिआएको हो । सोताङ र कुलुङले उपयोग गर्दै आएको साझा भाषाको स्वमित्व कायम गर्न सोताङले आफ्नो भाषाको नाम सोताङ हो भनेर दाबी गर्नु पर्दछ । सोताङले आफ्नो भाषाको नाम सोताङ नराखेको अवस्थामा कुलुङलाई आफ्नो भाषाको नाम कुलुङ राख्न निर्वाद छुट प्राप्त हुन्छ । सोताङले भाषाविहीन जीउनु पर्ने अवस्था आउछ । वर्तमान अवस्थासम्म सोताङले जीवन निर्वाह गर्दै ल्याएको भाषाको नाम सोताङ नराखेर अर्कै नाम राखे भने अहिलेको भाषामाथि सोताङले कानुनी हक दाबी गर्ने अधिकार रहँदैन । साझा रूपमा चलिरहेको भाषाको स्वमित्व प्राप्त गर्न सोताङले आफ्नो भाषाको नाम सोताङ हो भनेर दाबी गर्न छोडने बित्तिकै स्वत भाषाको स्वमित्व कुलुङले एकलौटी प्राप्त गर्दछ ।

गौरवताले भरिएको पुर्खाको इतिहासलाई धुलोले छोप्नु भनेको आफैले आफ्नो घाटी सेर्नु हो । सोताङको पुर्खाले पोम्लालुङ् सृष्टि गरेको थियो, जो कुलुङ र सोताङ दुवै पुर्खाले साझा चलाउने सम्झौता गरेर चलाउदै आएको आजपर्यन्त साझा कायम रहिआएको छ । सोताङ र कुलुङको साझा भाषिक र सांस्कृतिक धरोहरलाई कायम राख्न दुवै समुदायको सद्भाव नितान्त आवश्यक छ । एकले अर्कोप्रति अनादर जगाउनु आफैले आफैलाई स्वाहा गर्नु हो ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]