– डा. बी. बी. लोवात्ती पिल्मो राई
नेपालका विभिन्न जातजाति मध्ये किरात समुदाय प्राचीन जाति मानिन्छ । किरातवंशमा विविध जाति पर्दछन् तथापि राई, लिम्बू र सुनुवारले मूलरूपमा आफूलाई किरातवंशी दाबी गर्दै आएको पाइन्छ । यी जातिको थातथलो पूर्वी नेपालको पहाडी भूभाग मानिन्छ । पूर्वी नेपालमा विकास भएका राई जातिको मूल बसोबास क्षेत्र भोजपुर, खोटाङ, उदयपुर, ओखल्ढुङ्गा, सङ्खुवासभा र सोलुखुम्बु जिल्लालाई मानिन्छ ।
राई शब्द एकल भए पनि विविध भाषा र संस्कृतिमा विभाजित भएको समुदाय हो । विविध भाषिक र सांस्कृतिक परिवारमा विभाजित समूहलाई राई शब्दले अनेकतामा एकताको माला उनिएको जाति हो । भाषिक समूहपिच्छेको उद्गम थलो पनि फरक रहेको पाइन्छ । राई जातिको श्रुति इतिहास अनुसार चाम्लिङ, दुमी, पुमा, कोयी, साम्पाङ र नाछिरिङको खोटाङ जिल्ला, आठपहरियाको धनकुटा जिल्ला, लोहोरुङ, मेवाहाङ, याम्फू र याक्खाको सङ्खुवासभा जिल्ला, वाम्बुले, बाहिङ र जेरोङको ओखल्ढुङ्गा जिल्ला, सोताङ, कुलुङ, पिल्मोङ, खालिङ र थुलुङको सोलुखुम्बु जिल्ला उद्गम स्थान भएको बताइन्छ ।
राई जातिभित्रको एउटा भाषिक र सांस्कृतिक समूह सोताङ, पिल्मोङ र कुलुङ राई हो । यी तीन जातिको भाषा र संस्कृतिमा एकता देखिए पनि सृष्टि पुर्खा फरक भएको बताइन्छ । यस लेखमा सोताङ, पिल्मोङ र कुलुङ जातिको भाषा र संस्कृतिबारे संक्षिप्त परिचय प्रस्तुत गरिएको छ :–
१. उत्पत्ति
सोताङ, पिल्मोङ र कुलुङ एउटा भाषिक र सांस्कृतिक समूह हो भन्ने उनीहरूको उद्गम स्थल र सघन बसोबासको वातावरणले देखाउँछ । यी जातिको वंशावली अनुसार विशाल तालभित्र गाडिएको ढुङ्गाको चेपमा बाइरिप्चोको जन्म भयो । प्रकृतिसँग संसर्ग भएर बाइरिप्चोले छोरी होहोरेमलाई जन्म दिइन् । होहेरेम र हावाको संसर्गबाट छोरी नीनाम्रिदुम जन्मिन् । खडेरी लागेर पानीको हाहाकार भएको अवस्थामा नीनाम्रिदुम तिर्खाले छटपटिँदा पारुहाङको वीर्य पिइन् । नीनाम्रिदुमले तिर्खा मेट्न पारुहाङको वीर्य पिउँदा नीनाम्रिदुम गर्भवती भइन् । पारुहाङ्को वीर्य पिएपछि नीनाम्रिदुमको पेटमा बसेको गर्भबाट छोरा तुम्नो जन्मियो । तुम्नो जन्मिएको स्थानको नाम मीनापोङ्खो हाल्खुम्बु थियो । तर मीनापोङ्खो हाल्खुम्बु कुन देशमा पर्दछ भन्ने उल्लेख छैन । सोताङ, कुलुङ र पिल्मोङ समुदायको मिथक अनुसार प्रथम मानवको रूपमा तुम्नो जन्मियो ।
काठमाडौँबाट २०६८ साल आश्विन अङ्कमा प्रकाशित छेलाम्तुम् त्रैमासिक पत्रिकालाई किर्तिमान कुबिती सोताङ राईले दिएको अन्तवार्तामा यस्तो लेखिएको छ– हाम्रो पुर्खा सृष्टि भएको ठाउँ पुर्खाहरूले पनि लेखेर राखेनन् । बराहक्षेत्रमा पुर्खाको सृष्टि भयो भन्ने पुर्खाहरूको भनाइ मैले सुनेथेँ । बराहक्षेत्रमा तामाको रङको एउटा डल्लो ढुङ्गा छ, त्यो सृष्टिकर्ता खोक्चिलिपको नाइटो झरेको हो भन्ने सुनेको छु । बराहक्षेत्रमा खोक्चिलिपले घर बनाएको थियो । खोक्चिलिपको घर भत्केपछि त्यस स्थानमा बराहक्षेत्र मन्दिर निर्माण गरियो भन्ने सुनियो ।
खुवोलु लाम्छाम्मा :
मीनापोङ्खो हाल्खुम्बुमा मानव रूप धारण गरेको प्रथम सन्तान तुम्नो जन्मिएको थियो । तुम्नोका धेरै पुस्तापछि जन्मिएको सन्तान रोदु भएको थियो । रोदुका सन्तानहरू खम्बुहो, मेवाहाङ, मेत्नाहो, लाङलेवा र मेरात्ती भएका थिए । उनीहरू खुवोलु–लाम्छाम्मासम्म सबै दाजुभाइ सँगसँगै बसोबास गरेको श्रुति इतिहास पाइन्छ ।
२. वंश विकास
(क) रोदुको वंश विकास : रोदुका सन्तानहरू खुवोलु लाम्छाम्माबाट आपसमा दाजुभाइ छुट्टिएर अलग–अलग स्थानमा बसोबास खोज्ने क्रममा खम्बुहो दूधकोसी नदीको गढतिर लागेका थिए । तिलकशड्कर कुलुङले २०४९ सालमा प्रकाशन गरेको कुलुङ संस्कार–संस्कृति नामक पुस्तक अनुसार खम्बुहो खुवोलु लाम्छाम्माबाट दूधकोसी गढतिर लागेर दिक्तेल पुगेका थिए । दिक्तेलमा खम्बुहोका सन्तानहरू चामलिङ, दुमी, पुमा, कोयी, साम्पाङ नाछिरीङ, वाम्बुले, बाहिङ, जेरोङ, सोताङ, कुलुङ, पिल्मोङ, खालिङ र थुलुङ भएका थिए । खम्बुहोका सन्तान राई जातिको रूपमा परिचित छन् ।
(ख) खम्बुहोको राज्य : खम्बुहोले माझ किरातमा राज्य स्थापना गरेर शासन गरेका थिए । खम्बुहोले माझ किरातमा राज्य चलाएको हुनाले माझ किरातलाई खम्बुवान पनि भनियो । वि.सं. २०१७ सालसम्म सरकारी कागजपत्रमा प्रदेशको नामको रूपमा माझ किरात शब्द उल्लेख गरिएको पाइन्छ ।
(ग) मेवाहाङ : मेवाहाङ खुवोलु लाम्छाम्माबाट अरूण नदीको गढतिर लागेर संखुवासभा बसोबास गर्न पुगेका थिए । मेवाहाङका सन्तानहरू वर्तमान अवस्थामा लोहोरुङ, मेवाहाङ, याम्फू र याक्खा नामबाट परिचित भएको पाइन्छ । मेवाहाङका सन्तान पनि राईकै रूपमा परिचित छन् ।
(घ) मेत्नाहो : मेत्नाहो खुवोलु लाम्छाम्माबाट तमोर नदीको गढतिर लागेका थिए । तमोर नदीको गढतिर लाग्ने मेत्नाहोका सन्तान लिम्बूवान पुगेका थिए । लिम्बूको शासन भएको हुनाले पल्लो किरातलाई लिम्बूवान भनिन्छ ।
(ङ) लाङ्लेवा : लाङ्लेवा खुवोलु लाम्छाम्माबाट सुनकोसी नदीको गढतिर लागेका थिए । सुनकोसी गढतिर लाग्ने लाङ्लेवाको सन्तान सुनकोसी नदीको वरिपरि बसोबास गरेर सुनुवार भए ।
(च) मेरात्ती : मेरात्ती दाजुभाइ मध्ये कान्छा थिए । मेरात्तीले पछि फर्कँदा बाटो भुलिन्छ भनेर बाटोमा निशान हेर्न केराको बोट काट्दै सिकार खेल्न गएका थिए । तर मेरात्ती फर्कँदा उनले काटेका सबै केराको बोटमा टुसा पलाएर काटेको निशान मेटिइसकेका थिए । त्यसकारण उनले फर्कने बाटो पत्ता लगाउन नसकेर खुवोलु लाम्छाम्मा वरिपरि अल्मलिए । खुवोलु लाम्छाम्मा वरिपरि अल्मलिने मेरात्तीका सन्तान पछि धिमाल, थारु, मेचे र नागा भए ।
बाख्राको मासु नखाने घटना :
सोताङ, कुलुङ र पिल्मोङ राईले किरात वंशको प्रवेशद्वारको रूपमा खुवोलु लाम्छाम्मालाई मान्ने गर्दछन् । खुवोलु लाम्छाम्माको प्रवेशद्वार छिर्दा पहिले छिर्नेले कालो जुरेली चरो काटेर भोग चढाउँदा प्रवेशद्वार खोलियो र प्रवेशद्वार पार गर्न सफल भए । त्यसपछि प्रवेशद्वार बन्द भयो । प्रवेशद्वार पार गर्न पछि परेकाहरूले प्रवेशद्वार पार गरिसकेकाहरूलाई कसरी प्रवेशद्वार खोल्नुभयो भनेर सोध्दा उनीहरूले बहिनीको औँलो काटेर भोग चढाउँदा प्रवेशद्वार खोलियो र छिर्न सफल भयौँ भनिदिएछन् । पछाडि रहेका दाजुभाइले उनीहरूको कुरा विश्वास गरेर साँच्चै बहिनीको कान्छी औँलो अम्रिसाको पातले सेरेर भोग दिँदा प्रवेशद्वार खुल्यो र छिर्न सफल भएछन् । अम्रिसाको पातले कान्छी औँलो सेर्दा बहिनीको मृत्यु भयो र औँलो सेर्दा रगत लागेको अम्रिसाको पात बाख्राले टिपेर खाएछ । अम्रिसाको पातले कान्छी औँलो सेर्नेहरूले बहिनीको मृत्यु पश्चात् बाख्राको मासु खान छाडेको भन्ने श्रुति इतिहास पाइन्छ ।
३. सोताङ, पिल्मोङ र कुलुङ नामकरण
कुलुङ, पिल्मोङ र सोताङ स्थानका नाम हुन् । खोटाङ जिल्लाको दिक्तेलबाट रावाखोला हुँदै आएको राताप्खु नामको पुर्खा सोताङ पुगे, खप्दुलु नामको पुर्खा पिल्मोङ पुगे भने खप र उनका छोराहरू ताम्सी र छेम्सी नामका पुर्खा कुलुङ पुगेका थिए । यी सबै पुर्खाका सन्तानको पहिचान ठाउँको नामबाट भएको देखिन्छ । माथि उल्लिखित स्थानको नामकरण सम्बन्धी निम्नानुसार सामाजिक श्रुति इतिहास प्रस्तुत गरिन्छ :–
(क) कुलुङ : माप्य नामको खालिङ पुर्खा वनमा विचरण गर्दै बस्दथे । वनमा विचरण गर्ने क्रममा एक दिन माप्यले सानो ढुङ्गामाथि पानी जमेको देखेछन् । ढुङ्गामाथि जमेको पानी देखेर पानी र ढुङ्गा दुवैलाई माप्यले कुलुङ भनिदिएछन् । खालिङ पुर्खाले ढुङ्गामाथि जमेको पानीलाई कुलुङ नामकरण गरेपछि त्यो ढुङ्गा वरिपरिको भूभागको नाम कुलुङ रहन गयो । खालिङ भाषामा कुको अर्थ पानी र लुङ्को अर्थ ढुङ्गा हो । कुलुङ सांस्कृतिक अध्ययन, २०५७ अनुसार कुलुङ नामको स्थानमा समाज विकास भएपछि कुलुङ भन्ने ठाउँको नामबाट स्थानीय बासिन्दाको परिचय कुलुङ रहन गयो । कुलुङलाई स्थानीय भाषामा कुलु र नेपालीमा कुलुङ भनिन्छ ।
(ख) पिल्मोङ : सोताङ र कुलुङको बिचमा अवस्थित भूमिको नाम पिल्मोङ हो । मानव सभ्यताको आदिम कालमा घुमन्ते जीवन बिताउँदै बसिरहेको छाम्पानाम नामको पुर्खा र उनको परिवारलाई घनघोर बनभित्र हेर्न जाने व्यक्तिले शारीरिक रूपमा हृष्टपुष्ट बालक देखेर स्थानीय भाषामा पिपिल भनेर नामकरण गरिदिएछन् । पिपिल शब्द अपभ्रंश भएर कालान्तरमा पिल्मो शब्दमा परिणत भयो । यथार्थमा पिपिलको सन्तान नै आजभोलिका पिल्मोहरू हुन् । पिल्मोलाई स्थानीय भाषामा पिल्मो र नेपालीमा पिल्मोङ वा पेल्मोङ भन्ने गरिएको छ ।
(ग) सोताङ : कुलुङ र पिल्मोङदेखि अलि तल अवस्थित स्थानको नाम सोताङ हो । सिकार गरेको मासु सिङ्गै बोकेर राताप्खु नामको पुर्खा सोताङ पुगेर हेर्दा सिकार सुकेर घटेछ । सुकेको मासुलाई घट्यो भन्दा सोताङ भाषामा सत्तो भनेछन् । सत्तोको अर्थ कम्ती भयो भनेको हो । सत्तो शब्द कालान्तरमा अपभ्रंश भएर सोत्तो भयो । वर्तमान अवस्थासम्म सोताङलाई सोताङ भाषामा सोत्तो भन्ने गरिएको छ । सोत्तोलाई नेपालीमा सोताङ भन्ने गरिएको छ । सोताङमा बसोबास गर्ने समुदायलाई सोताङ गाउँको नामबाट सोताङ भन्ने गरिएको देखिन्छ । सोताङबाट अन्यत्र बसाइँ सरेर गएको राई समुदायले आफ्नो पहिचान सोताङ राई बनाएको पाइन्छ । रावा–राधाम्माबाट सोताङ आएर बसोबास गर्ने व्यक्ति नाछिरी पुर्खाको सन्तान थिए । आफ्नो पुर्खाको नाम नाछिरी भएको हुनाले सोताङ वासीले नाछिरीङ र सोताङ दुवै भन्ने गर्दछन् ।
४. संस्कृति
सोताङ, पिल्मोङ र कुलुङ नामकरणमा भिन्नता देखिए पनि भाषिक र सांस्कृतिक रूपमा एउटा समूह हो । यी समुदायमा दुई पटक लगन अर्थात् विवाह गर्ने चलन रहेको पाइन्छ । अन्तिम विवाहमा बेहुला घरका पुर्खाले धन पच्चा (विवाहको दस्तुर) र बेहुली घरका पुर्खाले चेली पच्चा (चेलीको क्रियाकाज जिम्मा लगाएको वचन) भनी दिए पछि विवाह सकिन्छ र जन्ती फर्कन्छन् । मरौमा क्रियापुत्री बस्न नपर्ने र खानपिन केही बार्नु नपर्ने संस्कृति रहेको छ । मृतात्मालाई पोम्लालुङ् पठाउने गर्दछन् । राताप्खु सोताङको कान्छो छोरो काचीबुइ वारिन्दोको मृत्यु हुँदा पोम्लालुङ ओडारभित्र मृतकको सतिगति गरेर पोम्लालुङ स्थापना गरियो । काचीबुइ वारिन्दोको मृत्यु पश्चात् मृत्यु भएका राताप्खु सोताङको शव पोम्लालुङ लगेर गाडियो । राताप्खु पश्चात् मृत्यु हुनेहरूको शव भने पोम्लालुङ लगेर गाड्न छोडियो । मृतकको मृतात्मा भने अन्तिम बसोबासको लागि पोम्लालुङ पठाउने गरिँदै आएको छ ।
५. दप्स्नीङ्
सोताङ, पिल्मोङ र कुलुङ समुदायमा पुजाआजा, मरौपरौ र विवाहमा दप्स्नीङ् प्रयोग गरिन्छ । हिन्दू समुदायले गोत्र प्रयोग गर्ने स्थानमा दप्स्नीङ्को प्रयोग गर्ने गरिएको देखिन्छ । दप्स्नीङ् फरक हुनु भनेको कुल फरक हुनु हो । दप्स्नीङ् फरक भयो भने कुलुङ–कुलुङ, सोताङ–सोताङ र पिल्मोङ–पिल्मोङ बिचमा वैवाहिक सम्बन्ध जोडिन सक्दछ । विवाहको लागि बेहुली घर र बेहुला घरको दप्स्नीङ् अनिवार्य रूपमा फरक हुनु पर्दछ । मरौमा मृतकको दप्स्नीङ् पुकारेर मृतकको मृतात्मालाई बाटो लगाउने गर्दछन् । कुलपितृको पूजा गर्दा पूजा गरिने घरको मूलीको दप्स्नीङ् पुकार्ने गर्दछन् । विवाहमा बेहुला र बेहुली दुवै पक्षको दप्स्नीङ् पुकार्ने गर्दछन् । एउटा दप्स्नीङ् भएको समुदायभित्र आपसमा वैवाहिक सम्बन्ध चल्दैन । दप्स्नीङ् र गोत्र उस्तै उस्तै स्थानमा प्रयोग गरिए पनि यी शब्दकाअर्थ भने फरक छन् ।
६. रीदुम्–होदुम्
रीदुम्–होदुम् (संस्कार–संस्कृति) सम्पन्न गर्दा सोताङ, पिल्मोङ र कुलुङ राई समुदायले घरको चुलो पुकारेर बाहिर निस्कने क्रममा सिकुवा, आँगन, कुखुरा–सुँगुरको खोर, पँधेरो, खोला–नाला, भिर–पहरा विभिन्न ठाउँको नाम पुकार्दै खुवोलु लाम्छाम्मा हुँदै मीनापोङ्खो हाल्खुम्बु पुग्ने गर्दछन् । मीनापोङ्खो हाल्खुम्बु पुगेपछि अघि जुन जुन ठाउँ पुकार्दै गएका थिए, ती ठाउँहरू पुकार्दै चुलामा आइपुग्ने गर्दछन् । बिजुवा, मरौको लाछोम, साखुम्बुको रीसीवा आदिमा खुवोलु लाम्छाम्मा पुकार्ने गर्दछन् ।
७. भाषा
सोताङ, पिल्मोङ र कुलुङले बोल्ने भाषा भोट बर्मेली परिवारमा पर्दछ । तीनै समूहले बोल्ने भाषा एउटा भए पनि नामकरणमा भिन्नता छ । यस भाषालाई पिल्मोङले इरिङ, कुलुङले कुलुरिङ र सोताङले सोत्तोरीङ् भन्ने गर्दछन् । सिक्किमबाट प्रकाशित इङ्लिश हिन्दी वर्ड लिष्ट ट्रान्स्लेटेड इन्टु कुलुङ सोताङ, २०१८ नामक पुस्तक अनुसार सोताङ गाउँमा बसोबास गर्ने समुदायले आफ्नो भाषालाई सोत्तोरीङ् भन्ने गर्दछन् । कुलुङ गाउँमा बसोबास गर्ने समुदायले कुलुरीङ् भन्ने गर्दछन् । सोत्तोरीङ् र कुलुरीङ्को व्याकरणमा भिन्नता छैन । केही शब्दको उपसर्ग र प्रत्यय मात्र फरक पाइन्छ ।
८. जनसङ्ख्या
राष्ट्रिय तथ्याङ्क विभागको वि. सं. २०६८ सालको जनगणना अनुसार कुलुङ मातृभाषीको सङ्ख्या २८,६१३ उल्लेख छ भने सोताङ र पिल्मोङ मातृभाषीको सङ्ख्या उल्लेख गरिएको छैन ।
९. धर्म
पिल्मोङ, सोताङ र कुलुङ राई जातिले मान्ने सुम्नीरीदुम् किरात धर्मभित्र पर्दछ । तीनै समुदायको संस्कारमा सुँगुरको मासु, गोरुको मासु, कुखुराको मासु, तीतेपाती, मुसुरेकटुसको स्याउला, दुबो, केराको सुप्लो र जाँड रक्सी शुद्ध मानिन्छ । किरात धर्मभित्रको सुम्नीरीदुममा चालिम, तोस्, योउ आदिको पूजामा पितृ एवं प्रकृतिलाई पुकार गर्दछन् ।