बालेन्द्र चौधरी सक्षम एक्जुकेटिभ सेफ हुन् । उनीसँग देश तथा विदेशका विभिन्न सामान्यदेखि स्टार होटलहरूमा काम गरेको अनुभव छ । २२ वर्ष होटल क्षेत्रमा काम गरेका उनी आर्थिक रूपमा पनि सन्तुष्ट छन् । उनले यो दिनसम्म आइपुग्न बढे से बढे दुःखहरू झेलेका छन् । उनै बालेन्द्र चौधरीसँग थुम्सेन्यूजले गरेको छोटो सम्वाद प्रस्तुत छ –
सुनसरीको रामधुनी–२, झुम्काबाट २२ वर्ष अघि बालेन्द्र पोखरा पुगेका थिए । घरमा तीन दिदी र तीन दाजुभाइ मध्येका उनी कान्छा हुन् । उनी दश वर्षका हुँदा उनको बुबाको निधन भयो । बुबाको निधन पश्चात घरको आर्थिक अवस्था दयनिय हुँदै गइरहेको थियो । आमाको रेखदेखमा हुर्किएका उनले सन् २००० मा एस.एल.सी पास गरे पश्चात प्लस्टुमा भर्ना हुनु पर्ने थियो । तर घरको आर्थिक अवस्था कम्जोर थियो । त्यस क्षणलाई स्मरण गर्दै उनले भने ‘जेठा र माइला दाइ कलेज लेभल अध्ययन गर्दै हुनुहुन्थ्यो । त्यसमा मैले पनि अध्ययन गर्नु पर्ने भयो । तर हामीसँग आर्थिक अभाव थियो ।’ त्यसै क्रममा घरको आर्थिक अवस्थालाई ध्यानमा राखेर केहि गरौँ भन्ने सोँच बोकेर उनी पहिलो पटक पोखरा पुगेका थिए । ‘त्यस बेला म १९ वर्षको थिएछु ।’ भन्दै उनले एक पटक फेरि १९ वर्षे त्यो यौवनलाई स्मरण गरे ।

‘पोखरामा दिदी–भिनाजु हुनु हुन्थ्यो । उहाँहरू कै आड–भरोसामा पोखराकै बगर बजारमा रहेको पृथ्वीनारायण क्याम्पसमा एडमिसन पनि गरेँ ।’ भर्ना मात्र भएर उनलाई हुने थिएन । उनले पैसा पनि कमाउनु पर्ने थियो । छोटो अवधिको भएपनि दुःखको त्यो क्षणलाई आज पनि उनी कष्टकर समयको रूपमा चित्रित गर्दछन् । ‘त्यसै बसेर त हुँदैन भनेर पढाइसँगै विभिन्न कामहरू पनि गरेँ । ती दिनहरूमा मैले लेवरको रूपमा पनि काम गरेँ । महिनाको आठ सयमा ह्याम्बर हान्नेदेखि दिनको ७० रुपैयाँ ज्यालामा इट्टा, बालुवा, मार्वल लगाउसम्म काम गरेँ ।’ त्यस क्षणलाई स्मरण गर्दै उनले आफ्नै सैलिमा सुनाए ।
त्यसरी नै दिनहरू बित्ने क्रममा एक दिन उनलाई भेनाका साथी सुर्य चौलागाईले होटलमा काम लगाईदिने भनेर लगे । होटल क्षेत्रमा त्यो नै उनको टर्निङ पोइन्ट भयो । उनले भिनाजुका साथीलाई थ्याङ्क्यू(धन्यवाद) भन्दै पहिलो होटल अनुभव यसरी सुनाए, ‘भिनाजुका साथी होटल फेवा प्रिन्समा कुक हुनुहुदो रहेछ । उहाँलाई त्यो होटलमा डिस वासर(भाँडा माझ्ने) को आवश्यक्ता रहेछ । मैले त्यहाँ डिस वासरको रूपमा काम सुरु गरेँ । त्यहाँ तीन दिनसम्म टिक्नै गाह्रो भयो । तीन दिनसम्म टिक्न सकेकै कारण आज म यहाँ छु । मैले त्यहाँ महिनाको १३ सयमा काम सुरु गरेको थिएँ । मैले दुई वर्ष डिस वासरको रूपमा काम गरेँ । मेरो मेहनतले गर्दा पनि होला मलाई धेरै गुरुहरूले सपोट गर्नु भयो । गणेश रायमाझी, युवराज खड्का, उत्तम के.सी.(काठमाडौ), श्याम महर्जन(पोखरा) र गणेश बानिया(पोखरा)को देन मेरो जीवनमा ठुलो छ । डिस वासरको रूपमा काम गर्दा गर्दै मलाई गुरु हाल जापानमा कार्यरत गणेश रायमाझीले मेरो ब्रेक टाइममा उहाँको मोटर बाइकमा चढाएर पोखराको इन्टरनेश्नल होटल ट्रेनिङ सेन्टरमा तीन महिना डिप्लोमा लेभलको कुक ट्रेनिङ निःशूल्क पढाइ दिनु भयो । गुरुले चाँही त्यहाँ पार्टटाइम टिचिङ गर्नु हुन्थ्यो ।’
उनले सिक्ने अवसर त पाए तर उनीसँग कपी किन्ने पैसा पनि थिएन । ‘सिक्ने क्रममा त्यो दिनहरूमा मसँग कपी किन्ने पैसा पनि हुँदैन थियो । टिसु पेपरमा लेखेर लगेर आफ्नो रुममा नोट बनाउँथे । गुरुहरूलाई रेस्पेक्ट गरेर नजानेका डिसका बारेमा सोध्ने गर्दथे । त्यसलाई पनि लगेर नोटमा राख्ने गर्दथेँ ।’
मानिसको जीवनमा सधैँ दुःख र संघर्ष मात्र हुँदैन । मेहनतले स्पात भइसकेका बालेन्द्रको जीवनमा उज्यालो आउनुनै थियो । एक दिन त्यो उज्यालोको किरणले उनको जीवनमा पनि स्पर्श गर्यो । त्यो दिन गुरु रायमाझीले नै उनलाई भने ‘तिमी यति अनुभवी भइसकेपछि एउटा २१ रुमस्को होटल के.सी. छ तिमी गर्न सक्छौँ, तिमी त्यहाँ जाउ भनेर मलाई सिधै पठाई दिनु भयो ।’ अनुहारमा खुसीका रेखाहरू दौडाउदै उनले विगत सम्झिए ।
‘मैले त्यहाँ ४५ सय ज्यालामा आठ महिना काम गरेँ । एज सिनिय भएर । त्यसपछि लेक साइटको पार्क अनदु रेष्टुरेन्ट एण्ड लजमा काम गरेँ । त्यहाँ ५५ सयमा नौ महिना काम गरेँ । त्यसपछि फेरि के.सी.मा नै फर्किए । फर्कदा ५५ सय सेलरीमा फर्किएको थिएँ ।’ उनले लगातार वृद्धि गरेको आफ्नो तरक्की पस्किए ।
त्यसपछि गुरुहरूकै सल्लाहमा उनी सुरुमा काम सिकेकै होटल फेवामा नै फर्किएँ । अब भने १३ सयमा काम सुरु गरेका बालेन्द्रको सेलरी ५५ सय भएको थियो । अब उनी डिस वासर नभएर एक असल महँगो कुक भएर फर्किएका थिए । त्यस समयसम्म उनी आफ्नो क्षेत्रमा निकै अनुभवी भइसकेका थिए ।
फेवामा एक वर्ष काम गरिसकेपछि उनले ‘पोखरा ग्राड’ भन्ने फाइभ स्टार(पाँच तारे) होटलमा अवसर पाए । उक्त होटलमा जानका लागि हाल दुबाइमा कार्यरत शेरबहादुर रानामगरले उनलाई सुझाएको उनी बताउँछन् । कम भ्याकेन्सी धेरै प्रतिस्पर्धी भएपनि अनुभवले पोख्त भइसकेका बालेन्द्रले इन्टरभ्यू पास गरेर २००७ बाट ‘पोखरा ग्राड’ मा काम गर्न थाले । उक्त होटलमा काम गर्दाको अनुभव उनले यसरी सुनाए । ‘धेरै जना फेल भएर म स्लेक्ट भएको थिएँ । रानामगर चाँही चाइनिज सेक्सनमा हुनुहुन्थ्यो । त्यहाँ सेक्सनवाइज काम हुन्थ्यो । कन्टिनेन्टल, इन्डियन, जापानिज, थाइ, बुचर, पेन्ट्री, बेकरी जस्ता धेरै सेक्सन थिए । आफ्नो–आफ्नो सेक्सनमा मात्र काम गर्नु पर्ने ।’
त्यसपछि उनी होटल कै लागि २००८ मा ओमनको मस्कटमा रहेको डिआरसेस रेष्टुरेन्टका लागि उडे । उनले त्यस बेलाको इन्टरभुको प्रशंग यसरी सुनाए । ‘उक्त भ्याकेन्सीको लागि ३८ जनाले आवेदन दिएकोमा काठमाडौँको सफल गुरुङ र म मात्र सेलेक्ट भएका थियौँ । त्यहाँ महिनाको ६० हजारको दरले काम गरियो । तीन वर्ष बसिसकेपछि घरको न्यास्रो लागेर २०११ मा घर फर्किएँ ।’ त्यसपछि उनी मस्कट फर्किएनन् ।
तीन वर्ष विदेश बसेर नेपाल फर्किएका उनले केहि समय घरमा विताए । त्यसपछि उनले पहिले जुन होटलमा भाँडा माझेर प्रगति गरेका थिए फेरि त्यहिँ फर्किए । उक्त होटलमा हाल अफ्रिकामा कार्यरत युवराज खड्का एक्जुकेटिभ सेफ थिए । उनीसँग सम्पर्क भएपछि खड्काले उनलाई फेरि काम गर्न बोलाएका थिए । उनले त्यहाँ तीन महिना जति काम गरे । त्यहाँ काम गर्दा गर्दै उनलाई अर्को अवसर आयो । पुरानो साथी बलराम भण्डारी जसले शेयर पनि लगानी गरेर ५२ रुमस्(कोठा)को नयाँ होटलको उद्घाटन गरे । उक्त होटलमा एक्जुकेटिभ सेफको रूपमा ४५ दिन मात्र काम गरे ।
त्यसपछि उनी फेरि मस्कटमै फर्किए । त्यहाँ उनले पल्मिरा भन्ने रेष्टुरेन्टमा ‘सु’ सफेको रूपमा काम गर्न थाले । काम गर्न थालेको २१ महिनापछि उक्त रेष्टुरेन्ट नै बन्द भयो । कम्पनी बन्द भएमा त्यहाँ ‘एनओसी’ भन्ने एउटा अवसर दिने रहेछ । त्यो एनओसीको नियम अनुसार १५ दिनभित्र कि त काम खोजीसक्नु पर्ने कि त आफ्नो देश फर्किसक्नु पर्ने रहेछ । त्यो अवधिभरमा उनले गोल्डेन टु लिभ भन्ने फोर स्टार होटलमा काम मिलाएर नेपाल फर्किए । त्यसपछि केहि समय नेपाल बसेर गोल्डेन टु लिभ होटलका लागि उडे । उनले सो होटलमा काम गर्दै गर्दा सो क्षेत्रका २१ होटलहरूबिच भएको कार्विन प्रतियोगितामा उनी प्रथम भएका थिए । त्यसबाट उनी फस्ट अवार्डेड(प्रथम पुरस्कार) भएका थिए । उनले त्यहाँ पाँच वर्ष विताए ।

गोल्डेन टु लिभमा पाँच वर्ष विताएर फर्किएका उनले घरमा दुई महिना विताएपछि काठमाडौको ग्रेजी स्पोन भन्ने होटलमा पाउने चार वर्ष विताए । ग्रेजीको सौराहा, पोखरा र काठमाडौमा ब्रान्च रहेको छ । ‘त्यहाँ मैले कर्पोरेट एक्जुकेटिभ सेफको पोष्टमा काम गरेँ । मैले त्यहाँ मेरो क्षेत्रको तीन आटै ब्रान्चलाई हेन्डलिङ गर्थेँ ।’ उनले स–गौरव आफ्नो कामको बारेमा सुनाए ।
‘ग्रेजीमा काम छोडेको तीन महिना पछि हाल म बेलबारीको ड्रिम ल्याण्ड फनमा कार्यरत छु । सोँच त मेरो झुम्कामै केहि गरुँ भन्ने थियो । यति धेरै काम गरिसकेपछि केहि गर्छु भन्ने प्लान काठमाडौ छाड्ने बेलामा नै बनाइसेको थिएँ । केहि काम गरेर झुम्कालाई पनि चिनाउँ भन्ने विचार थियो । तर विजय सुवेदी सरसँगको लामो समयदेखिको चिनजान र हाम्रो सल्ला बमोजिम म बेलबारी आएको छु ।’
हाल उनी ड्रिम ल्याण्डमा एक्जुकेटिभ सेफको रूपमा कार्यरत छन् । बेलबारी आसपासका मानिसहरूले होटल क्षेत्रमा काम गर्न रुचाउने वा ट्रेनिङ(तालिम) लिन चाहेमा पनि आफुले जानेसम्मको सिकाउने उनी बताउँछन् । उनले कुक, हाउस किपिङ, फ्रन्ट अफिस हस्पिटालिटी, किचन, मल्टी क्यूसिन, बेकरी, कार्विङ्गदेखि नेपाली, इन्डियन, जापानिज, चाइनिज, कन्टिनेन्टल, थाई, कोरियन र ब्राजिलियनसम्मका डिसहरू सिकाउन सक्छने बताउँछन् ।
धेरै मानिसहरूलाई कुक, सेफको विषयमा धेरै जानकारी हुँदैन । त्यसको विषयमा उनले होटलभित्र काम गर्नेहरू धेरै तरिकाको हुने र तिनीहरूको काम र पोष्ट पनि फरक–फरक हुने बताउँछन् । जसमा डिस वासर, कमी ३, कमी २, कमी १, हुन्छन् । त्यसपछि डिसिडिपी, सिडिपि हुन्छन् । त्यसैगरी जुनियर डिसिडिपी, सिनियर डिसिडिपी, जुनियर सिडिपि, सिनियर सिडिपि हुन्छन् । त्यसपछि सु सेफ आउँछ । त्यसमा पनि जनियर सु सेफ, सिनियर सु सेफ हुन्छन् । त्यसपछि एक्जुकेटिभ सेफ आउँछ । त्यसभन्दा माथि जुनियर एक्जुकेटिभ सेफ, सिनियर एक्जुकेटिभ सेफ हुन्छन् भने त्यसपछिको माथिल्लो पोष्ट भनेको मास्टर सेफको हुन्छ ।
