
बेलबारी
सङ्खुवासभा जिल्लाको हेदाङ्ना गाउँपञ्चायत अन्तर्गत माङ्सिमामा जन्मभई बेलबारीमा स्थायी रूपमा बस्दै आएका रविन गुरुङको गत शुक्रबार निधन भएको छ । समाजका अग्रणी व्यक्तित्वको ६९ वर्षको उमेरमा निधन भएको हो । उनको निधन आफ्नै निवास मोरङको बेलबारी–३, दोघरेमा भएको थियो ।
उनलाई विभिन्न व्यक्ति तथा संघ संस्थाले अन्मित श्रद्धाञ्जली दिएका थिए । उनको शवलाई बेलबारी–३ मा रहेको तमु बुद्धिष्ट गुम्वामा अन्मित श्रद्धाञ्जलीका लागि राखिएको थियो । मोरङ नेत्रहिन संघ र तमु ह्यिुल छोँज धीँ ले पार्थिव शरीरमाथि झण्डा ओडाएर सम्मान जनाएका थिए । त्यस क्रममा बेलबारी नगरपालिकाका प्रमुख डिलप्रसाद राई, शिक्षक तथा साहित्यकार इरनकुमार राई लगायतले गुरुङका बारेमा बोलेका थिए । बोल्ने क्रम्ममा ‘‘हामीले आज बेलबारीका एउटा अभिभावक गुमाएका छौँ । उहाँले धेरै राम्रा कामहरू गर्नु भएको छ । अझै गर्नु पर्ने धेरै कामहरू थिए र उहाँले देखाई जानु भएका बाटाहरूमा हामी सबै हिँड्न सक्नु पर्छ ।’’ प्रमुख राईले भावुक हुँदै व्यक्त गरेका थिए । द रेयूकाईमासँगै काम गरेका शिक्षक तथा साहित्यकार इरन कुमार राईले गुरुङले समाजमा पछी परेका, अन्यायमा पारिएका व्यक्तिहरूलाई माथि उठाउन हरपल काम गर्ने गरेको स्मरण गरेका थिए ।
उनले बेलबारीको मालपोत कार्यालय, भगवती विद्यालय(बुबा सहवीर गुरुङ सहित), गोदावारी विद्यामन्दीर, बेलबारी बहुमुखी क्याम्पस, भानु मेमोरियल स्कूल, बेलबारी खानेपानी, बेलबारी–३ र ४ जोड्ने धाराखोलाको पुल निर्माण, तमु बुद्धिष्ट गुम्बा बेलबारी, विभिन्न पुस्तकालय, विभिन्न संघ संस्था, सामाजिक चेतना, अक्षय कोषको स्थापना, वृक्षा रोपण लगायतका बहु क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
माथि उल्लेखित विभिन्न कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गुरुङ नहुँदा बेलबारीको इतिहासमा कुनै कार्यक्रम नै नहुने अवस्था थियो । बेलबारीमा मालपोतको स्थापना, बैङ्कको स्थापना, गोदावारीको स्थापना, खानेपानीको स्थापना, गुम्बाको स्थापना, बहुमुखी क्याम्पसको स्थापना, भानु स्कुलको स्थापना लगायत बेलबारीका विभिन्न व्यक्ति–व्यक्तित्वहरूको इतिहास सविस्तार वर्णन गर्न सक्ने क्षमता र ज्ञान उनमा थियो ।
शिक्षक बाहेक उनी फोटो ग्राफर, सुरिलो स्वरका धनी, बाध्यबाजनमा रुचि भएका, तमु ह्यिुल छोँज धीँ मोरङका संस्थापक सचिव, हाल छोँज धीँका केन्द्रीय र मोरङका सल्लाहकार, २०५३ साल ताका द रेयुकाईका बेलबारी अध्यक्ष, पारुहाङ पत्रिकाकासाथै अन्य पुस्कतहरूका प्रकाशक थिए ।
गुरुङको परिवारमा आमा, श्रीमती सहित दुई छोरा र एक छोरी रहेका छन् । उनको बौद्ध संस्कार अनुसार अन्त्यष्टि गरिएको छ ।