
मोरङ्ग
मोरङ्ग जिल्लाका स्थानीय पालिकाका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ । रापपमा भएका नाम अशुद्ध, उमेर फरक, ठेगाना फरकले गर्दा वृद्धाहरूले शास्ती व्यहोर्नु परेको छ । हाल वृद्धाभत्ता थाप्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक हुन थालेको छ । वृद्धा भत्ता खानकै लागि भए पनि वृद्धावृद्धहरू राष्ट्रिय परिचय पत्र बनाउन बाध्य भएका छन् ।
त्यसरी बाध्यकारी रूपमा रापप बनाउँदा पनि त्यसमा विभिन्न त्रुटी देखिएपछि त्यसका सुधारको लागि पुनः हैरानी र पैसा खर्च गर्न उनीहरू बाध्य भएका छन् । मोरङ्ग बेलबारी वडा नं. ९ का टहल बहादुर वानियाले आफुलाई हैरान भएको जनाएका छन् ।
वानियाको नागरिकतामा टहल बहादुर वानिया छ तर राष्ट्रिय परिचय पत्रमा टह वहादुर बानिया भएर आयो । त्यसपछि उनको हैरानी सुरु भएको उनी बताउँछन् ।
‘‘हामी त बुबाबुढी मान्छे, नाम बिग्रीएर आए छ । अब फेरी पाँच सय पनि यो बैँकमा तिर्नु पर्ने रे । त्यो तिरेको रसिद लिएर उर्लाबारी जानु पर्ने रे ।’’ वानियाले भने ।
त्यसै गरी बेलबारी–६ की जै माया राईको उमेर आफ्नो छोराको भन्दा कम उमेरको भएको छ । उनको उमेर २०३७ सालमा ३१ वर्ष भनेको छ तर यता रापपमा त्यसै २०३७ साललाई जन्म मिती बनाई दिएको छ । उनको छोरा मिलन नै २०३६ सालको हो । छोरा मिलन भन्छन् ‘‘मलाई आमाभन्दा जेठो बनाई दिएछ । हा हा हा ।’’


यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शिवराज सेडाई भन्छन् – ‘‘त्यसरी गल्ती हुनु मानविय त्रुटी हो । तर रापप बनाउँदा नै कर्मचारीले पुरा विवरण भरिसकेपछि तपाईँको भरेको विवरण ठिक छ ? भनेर सोधेर भेरिफाई गर्ने गरिन्छ । त्यसरी त्रुटी भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रतिलिपिका निवेदन गर्न व्यवस्था गरिएको छ । रापप ऐन अनुसार प्रतिलिपिका लागि पाँच सय लाग्ने हो ।’’ त्यसरी अत्याधिक समस्या आएपछि विभागले समस्याका समाधानका लागि सबै प्रदेशका लागि सूचना जारी गरेको छ ।