
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा बृहत क्यान्सर परामर्श तथा परीक्षण शिविर गरेको छ । शुक्रबार भएको परीक्षणमा करिब ३ सय बढिले स्वास्थ्य जाँच गराएका छन् ।
बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चलेको शिविरमा मेडिसिन तर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरी तर्फ ७२ जनाको स्वास्थ्य जाँच गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिएका छन् । उनले क्यान्सरको सेवा सुरु गर्न प्रतिष्ठानले पहल गरेको र यस्ता शिविरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने बताए ।

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनसँगको प्राविधिक सहयोगमा शिविर भएको हो ।
प्रतिष्ठानमा क्यान्सर सम्बन्धि भएको यो ठुलो र पहिलो शिविर हो जसबाट ठुलो संख्यामा बिरामी लाभान्वित भएको लम्सालले बताए । शिविरमा क्यान्सर अस्पताल भरतपुर चितवन र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारी खटाइएको थियो ।
क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सकका रूपमा मेडिकल अंकोलोजी डा. बिबेक कंडेल, ब्रेष्ट सर्जरी डा. अनुप भट्टचन, युरोलोजी डा. बोधराज गौतम, गाइनो अंकोलोजी, डा. अस्मिता ओलीले शिविरमा स्वास्थ्य जाँच गरेका थिए ।
प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरु गर्न सहकार्य गर्ने र क्यान्सर अस्पताल बिच यसअघि दुबै स्वास्थ्य संस्थाबिच भएको सम्झौता अनुरुप शिविर भएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने निमित्त उपकुलपति प्रा. लम्सालको भनाई छ ।
शिविरमा महिलाको पाठेघर, स्तन, योनी लगायतको क्यान्सर परीक्षण हुने भएकाले क्यान्सरका बिरामी र पाठेघरमा समस्या भएका, स्तनमा गाठा भएका, योनी चिलाउने तथा घाउ भएका लगायतका समस्या हुने महिलाहररूले परीक्षण गराएका थिए ।