
काठमाडौँ
गोपाल देवान एक समय जेल परे । पञ्चायती व्यवस्थामा जनताका लागि सचेतना मुलक नाटक प्रस्तुत गर्दा उनी जेल परेका थिए । ‘आधी विनाको अन्त्य’ नाटक प्रस्तुत गर्दा उनी सात दिन प्रहरी हिरासतमा बस्नु परेको थियो । शारीरिक, मानसिक यातना खप्नु परेको थियो । उनको त्यो नै पहिलो नाटक थियो । आज त्यहि नाटकको कारण उनी पुरस्कृत भएका छन् । मानिसका जीवनका विभिन्न उदाहरण मध्ये यो पनि एउटा उदाहरण हो । पहिलो नाटक गर्दा नै जेल हालेको राज्यले पुरस्कृत भने वर्षौँ वर्षपछि मात्रै गरेको छ । त्यसबिचको दुःख, कष्ट र हन्डरहरू सबै देवान एकलैले भोगे ।
देवान हिजो (बुधबार) नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–पुरस्कार–२०८० बाट सम्मानित भएका छन् । उनलाई नाट्य विधामा योगदान गरेबापत प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रदान गरिएको थियो । उनलाई ताम्ररपत्र सहित नगर एक लाख नगदले पुरस्कृत गरिएको हो ।
देवानका ‘दमनको राप’, ‘आधी विनाको अन्त्य’, ‘एकता नै बल हो’, भोकको औषधी’, ‘अधुरो यात्रा’, ‘यिनीहरू देश खोजिरहेका छन्’ लगायत चर्चित नाटकहरू हुन् । उनको ‘दमनको राप’ नाटक संग्रह २०७८ मा प्रकाशित छ भने २८ ओटा फुटकर नाटकहरू लेखेका छन् ।
‘गुराँसको फेर मुनी सम्झनाको छायाँ’ गीतका रचयिता देवान ‘क्रिमुक’ कविता विधाका प्रतिपादक हुन् । उनले गीत, गजल र पत्रकारितामा कलम चलाउँदै आएका छन् ।
परस्कृत हुनेमा देवान सहित रङ्गमञ्च विधामा हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा चन्दनकुमार श्रेष्ठ, सङ्गीत विधामा तारा थापा, लोक सङ्गीत विधामा बोमबाहादुर कार्की र नृत्य विधामा जोगेन्द्र के.सी. रहेका छन् ।