
नारायण राई
सुनसरी–कोशी उच्च बाँध निर्माण कार्य पुनः सुचारु गरिएको छ । विगत ४४ वर्ष अघिदेखि सुरु भएको सप्तकोशी उच्च बाँधको काम पुनः सुरु भएको छ । उक्त आयोजनाको नाम सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजना रहेको छ ।

निर्माण कार्य धनकुटाको साँघुरीगढी गाउँपालिका वडा नं. १० मा ड्रिलिङ कार्य सुरु भएको छ । उक्त बाँध निर्माणका लागि नेपाल र भारत सरकारले सन् १९४६ बाट काम सुरु गरेको थियो । त्यस बेला सम्भाव्यता अध्ययन भएको थियो । त्यसपछि सन् २००४ सालबाट बाँध निर्माणका लागि काम सुरु भएको थियो । त्यस क्रममा विभिन्न विरोधहरू र मुख्य गरी माओवादी द्वन्दको कारण उक्त काम रोकिएको थियो ।


तस्विमा बाँध निर्माण हुने स्थान
रोकीएको काम अब फेरि सुरु भएको छ । यस आयोजनाले सतहदेखि २३२ मिटरको उचाईको बाँध निर्माण गर्ने छ । बाँध कंक्रिटको हुने छ । बाँध निर्माण सुनाखम्बी भन्ने स्थान र घुम्ती खोलाको बिचमा हुने छ । अझ प्रष्ट पार्ने हो भने बराहक्षेत्र मन्दिरदेखि उत्तर र खुवालुङ्ग क्षेत्रभन्दा तल बन्ने छ ।



बाँध निर्माण पश्चात विद्युत, सिंचाई, बाढी नियन्त्रण र जलपरिवहनबाट फाइदा लिइने दुई देशको योजना रहेको आयोजनाका विराटनगर नि. प्रमुख हरदेव थापाले बताएका छन् । उनले भने ‘‘योजना अनुसार त्यहाँबाट २२५० मेगावट विद्युत उत्पादन गर्न सकिने छ । नेपाललाई ३.४२४ लाख हेक्टर र भारतमा ३.८३७ लाख हेक्टरमा सिंचाई गरिने छ ।’’

यता सरकारले आयोजना सुरु गर्नका लागि काम गर्न थालेका छन् भने उता प्रभावित हुने स्थानका मानिसहरूले कोशी उच्च बाँध विरुद्ध संघर्ष समिति निर्माण गर्न थालेका छन् । गत विहिबार सुनसरी, धनकुटा, भोपुर र उदयपुरको संगम स्थल सिम्लेमा कोशी उच्च बाँधबाट प्रभावित हुने व्यक्तिहरूले संघर्ष आयोजक समिति गठन गरेका छन् ।

उनीहरूले प्रभावित हुने सबै क्षेत्रलाई समेट्ने गरी एउटा संघर्ष आयोजक समिति गठन गरेका छन् । उक्त समितिले आगामि बैशाख ७ गते संघर्ष समिति गठन गर्ने भएको छ । ८५ वर्षीय गणेश कुमार राई भन्छन् ‘‘सरकारले कोशी उच्च बाँध निर्माण गर्ने भन्छ । बाँध निर्माण गर्दा हामी प्रभावित व्यक्तिहरूको घर जग्गा, जमिन सबैबाट उठिबास लगाउँछ । त्यतिमात्र नएर हामी त उठिबास हुन्छौँ नै अहिले पहाडको टुप्पामा बस्नेहरूको समेत पानीको छालले हानेर घर, बारी खोलामा तानी दिन्छ । त्यसैल उनीहरू पनि सचेत हुन जरुरी छ ।’’ उनी धनकुटा जिल्लाको सहितभूमि गाउँपालिकामा पर्ने पोखरे गाउँमा बस्दछन् । त्यो गाउँ बाँध निर्माण क्षेत्रको एकदमै नजिक छ । बाँध निर्माण केही समय मै आफ्नो गाउँ डुबानमा पर्ने उनको कुरा छ ।
डुबानमा पर्ने क्षेत्रहरू
खुवालुङ्ग क्षेत्र सहित भाेजपुर, धनकुटा, खाेटङ्ग, सङ्गखुवासभा, उदयपुर लगायतका जिल्ला पर्दछन् ।
१. भोजपुर जिल्लामा आमचोक ७,८,९,१० वडा, अरुण १,४,५,६,७ वडा, हतुवा गढी १, ४, ५, ६, ७, ८, ९ वडा, पौवादुङ्गमा ५,६ वडा, षडानन्द ६, ७, ११ र १२ वडा
२. धनकुटा जिल्लामा चौबिसे ५ वडा, छथरजोरपाटी ३ र ४ वडा, धनकुटा ८,९ वडा, सहिदभूमि १, २,३, ४, ५,६,७ वडा, महालक्ष्मी ४,५,६ वडा, पाख्रिबास ५, ६, ८ र १० वडा, साँगघुरीगढी १, २, ३, ७, ८, ९ र १० वडा,
३. खोटाङ्ग जिल्लामा वराहपोखरी १,२, ४ र ५ वडा दिप्रुङ्गचुइचुम्मा ४ वडा, हलेसीतुवाचुङ्ग २, ३, ५,८ र ११ वडा, जन्तेढुङ्गा १ र २ वडा, खोटेहाङ्ग ९
४. सङ्गखुवासभा जिल्लामा चैनपुर १० र ११ वडा, धर्मदेवी ७ र ८ वडा, खाँदवारी २, ८ र ९ वडा, पाँचखपन ४ वडा,
५. उदयपुर जिल्लामा बेलका ५,६ र ७ वडा, चौदण्डीगढी १ र ८ वडा, रौतामाई ३ र ५ वडा, ताप्ली १, ४ र ५ वडा, त्रियुगा १४ र १५ वडा, कटारी १०, वडा लिम्चुङ्बुङ १, २, ४ र ५
हालसम्म सम्पन्न कामहरू
१. टोपोग्राफिक सर्भे
२. निर्माण सामग्री अध्ययन
३. कम्युनिकेशन सम्बन्धी अध्ययन
४. सिंचाई सम्बन्धी अध्ययन
५. जलपरिवहन मार्ग सम्बन्धी अध्ययन
६. भौगर्भिक अध्ययन
(सप्तकोशीमा १२५८ मिटर ड्रिलिङ, सुनकोशीमा ७३१ मिटर ड्रिलिङ)
गर्न बाँकी कामहरू
१. वातावरणीय प्रभाव मूल्याङ्गकन सहितको पुनर्वास तथा पुनस्र्थापना सम्बन्धी अध्ययन
२. जलविद्युत सम्बन्धी अध्ययन
३. बाढी नियन्त्रणबाट हुने फाइदा सम्बन्धी अध्ययन
४. हिमताल फुट्दा हुने अकस्मात बाढी सम्बन्धी अध्ययन
५. भौगर्भिक अध्ययन(सप्तकोशीमा जम्मा ३०२९ मिटरको २३ वटा स्थानमा ड्रिलिङ र ६०० मिटरको १ स्थानमा ड्रिलिङ, सुनकोशी र कमलामा जम्मा ११८३ मिटरको १२ स्थानमा ड्रिलिङ र जम्मा १७० मिटरको ४ स्थानमा ड्रिफ्टिङ)

