नारायण राई
नेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि होला कि पहिले जस्तो मानिसहरू माझी समुदायसँग मित लगाउने गरेको पनि पाइदैन ।

मित नलगाउनु एउटा कुरा हो, भने नेपाली समाजले आजभोली माझी समाजलाई भुल्दै पनि जान थालेका छन् । जति बेला नेपालका अधिकाङ्स खोला वा कोशीहरूमा पुल थिएनन्, त्यस बेला खोला वा कोशी तर्नका लागि उनीहरूको महत्व अधिक थियो या भनौँ माझी विना खोला वार–पार गर्न असम्भव नै थियो । अघिल्लो पुस्ताका मानिस जो खोला वार–पार गर्दा कस्ले माझीको डुङ्गा चढेनन् होला र ? त्यस बेलाका राजदेखि रैति सबै–सबैलाई माझीले आफ्नो डुङ्गामा चढाएर वारी–पारी तारिदिए । त्यस बेला पनि धनाढ्य भन्नेहरूले पैसाको दम्भमा उनीहरूमाथि शोषण गरे भने आज आएर ती यातायातका प्रमुख सञ्चालक र चालकहरूलाई आम नेपालीले भुसुक्कै विर्सेका छन् ।

नेपालको आजको विकासको प्रमुख समवाहकहरूको निर्धारण गर्ने हो भने माझी र उनको डुङ्गा प्रमुख रूपमा आउँछ । नेपालको इतिहासमा सबैभन्दा पुरानो निर्जीव सवारी सधान भनेको डुङ्गा हो । त्यसभन्दा अघि ना बस गाडी थिए ना हवाई जहाज नै । धनाढ्यले चढेर आउने भनेको घोडा हो । ठुल्ठुला खोलामा घोडा तर्न नसक्ने भएकाले उनीहरूले पनि डुङ्गा कै प्रयोग नगरी शुखै थिएन ।
मानव निर्मित र निर्जीव साधनहरू माध्ये सबैभन्दा पुरानो साधान अन्तर्गत डुङ्गा पर्दछ । डुङ्गा र बहना बनाउने कला र सिप अनि पानीमा डुङ्गा खियाउने ज्ञान नेपाली समाजमा माझी समुदायलाई जति अरु समुदायलाई सायदै आउँछ ।

यातायातका अन्य साधन र पुल–सडकको विकासले प्राचीन माझी समुदायको महत्व घट्दै आएको भान हुन थालेको छ । त्यतिमात्र नभएर हाल उनीहरूको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ । वि.सं. २०१५ सालमा सुनसरी र सप्तरी जिल्लाको मध्यभागमा पर्ने कोशी बरेज बनाउने भन्दै त्यस क्षेत्रबाट माझी समुदाय विस्तापित गरिए विडम्वना आजसम्म ती माझी समुदायले सरकारले कबोल गरेको क्षतिपुर्ती प्राप्त गर्न सकेका छैनन् ।

त्यसै गरी वि.सं. २०५८ सालमा सरकारले मेलम्चीको खानेपानी सिन्धुपाल्चोकबाट काठमाडौँ पुर्याउने लक्ष्य लियो । त्यो योजनाले सो क्षेत्रमा बसोबास गरिरहेका माझी समुदायलाई प्रभावित पार्यो । तर उनीहरूलाई सरकारले व्यवस्थित गर्ने कुनै लक्ष्य र योजना लिएन । अब फेरि रामेछाप, सिन्धुली जिल्लामा विभाजित गरिएका माझी समुदायलाई थप विस्थापित गर्ने गरी सुनकोशी मरिन र सुनकोशी–२ विद्युतिय परियोजना सञ्चालन हुँदै छ । उक्त आयोजनाले सो क्षेत्रमा बसोबास गर्ने माझी समुदायलाई विस्थापित गर्ने कार्य हुँदैछ । तर उनीहरूलाई स्थापित गर्ने सरकारको कुनै योजना छैन । त्यसरी विस्थापित र पीडित बन्दै आएका र हुँदै गरेका माझीको लागि कहिले पनि नेपाल सरकारले अविभावकत्व ग्रहण गर्न सकेको देखिदैन ।

के यातायातको कुनै उपाय नहुँदा उनीहरूले खोला–कोशीमा आफ्नो जीउज्यानको बाजी थापेर मानिसहरूलाई तारेको योगदानको कुनै अर्थ रहेन अब ? उनीहरूले पुस्तौ–पुस्तादेखि मानव समाजलाई दिँदै आएको सेवा भावको उपहार उनीहरूलाई छिन्नभिन्न बनाउनु र अस्तित्व नै समाप्त पारिदिनु हो ? माझी समाजमा माझी सबै एउटै समाजभित्रका मानव हुन् । तर नेपालका शाषकहरूले उनीहरूलाई टुक्रा–टुक्रामा विभाजन गरेका छन् । आज रामेछाप, दोलखा, चरिकोट, सिन्धुली आदि क्षेत्रमा छुट्याइएका माझी समाज एउटै समाजभित्रका समुदाय हुन् । तर शाषकले आफुलाई शाषन गर्न सहज होसभन्ने हेतुले गडवारी, आकासे, गइखुरा, चिसापानी, रजगाउँ, पुछिघाट, डफ्गा, सित्खा, कोथपे, लुबु, चौरिखोला, गारगोठ, खिम्ती, भिरकोट, मुल्कोट, मलेखु, मलेपु, सेलेघाट, नौघाट, हर्देनी, कलनजोर, धनेघाट, कुखुरेटार, बसेरी क्षेत्रलाई विभिन्न जिल्ला र गाउँपालिका – नगरपािलकाको नाममा विभाजन गरेको पाइन्छ । माथि उल्लेखित गाउँ माझी समुदायको क्षेत्र हो ती क्षेत्रलाई माझी स्वायत्त क्षेत्र घोषणा गरेर उनीहरूले प्राप्त गर्नु पर्ने अधिकारहरू देशका शाषकहरूले प्रत्यायोजन गर्न जरुरी छ । हैन भने इतिहासमा उनीहरूले नाै घाट, सेले घाट, दुधकाेशी र तामाकाेशी घाट, फुलकाेट घाट, मनथली( मन्थली गाउँ र कुनउरी गाउँ जाने घाट) घाट, करमबाेट घाट, बेनी घाट, गाइखुरा घाटमा थकेर पनि नथाके झै आफुले पाएकाे जिम्मेवारी इमान्दारिताकाे साथ निर्वाह गर्दै आजको आधुनिक नेपाल निर्माण गर्नमा पुर्याएको योगदानको अवमुल्यन हुने छ ।